नियम ३१
पुनर्स्थापना केन्द्र बन्द गर्न सक्ने
(१) ऐन तथा यस नियमावली बमोजिम स्वीकृति लिई सञ्चालनमा रहेको पुनर्स्थापना केन्द्र सञ्चालन गर्न सम्भव नभएमा त्यस्तो केन्द्रको प्रमुखले बन्द गर्नु पर्ने कारण सहित पुनर्स्थापना केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिको विवरण समेत संलग्न गरी सम्बन्धित स्थानीय तह समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको निवेदन उपर जाँचबुझ गर्दा त्यस्तो पुनर्स्थापना केन्द्र बन्द गर्नु पर्ने मनासिब आधार र कारण रही बन्द गर्न उपयुक्त देखेमा सम्बन्धित स्थानीय तहले त्यस्तो पुनर्स्थापना केन्द्रमा रहेका व्यक्तिको लागि अन्य वैकल्पिक व्यवस्था गरी बन्द गर्न स्वीकृति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम पुनर्स्थापना केन्द्र बन्द गर्न स्वीकृति प्राप्त भएमा त्यस्तो पुनर्स्थापना केन्द्रले सो केन्द्रमा रहेका व्यक्तिहरुको वैकल्पिक व्यवस्था गरिसकेपछि मात्र बन्द गर्ने अन्य प्रक्रिया पूरा गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पुनर्स्थापना केन्द्र बन्द गरेको जानकारी त्यस्तो पुनर्स्थापना केन्द्रले तीन दिनभित्र सम्बन्धित स्थानीय तहलाई दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम प्राप्त हुन आएको जानकारी सम्बन्धित स्थानीय तहले सात दिनभित्र सम्बन्धित प्रदेश सरकार र मन्त्रालयमा दिनु पर्नेछ।
(६) उपनियम (१) बमोजिम प्राप्त हुन आएको निवेदन उपर सम्बन्धित स्थानीय तहले जाँचबुझ गर्दा बन्द गर्न माग गरेको पुनर्स्थापना केन्द्र आफैंले वा आफ्नो समेत संलग्नता र लगानीमा सञ्चालन गर्न आवश्यक देखेमा स्थानीय तह आफैले वा आफू समेतको संलग्नता र लगानीमा त्यस्तो केन्द्र सञ्चालन गर्ने वा कुनै प्रतिष्ठान वा अपाङ्गता क्षेत्रमा क्रियाशील अन्य सङ्घ, संस्थालाई सञ्चालन गर्न हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सक्नेछ ।